नेक बोर्ड सदस्यमा शिक्षकहरुकोतर्फबाट त्रिपाठी निर्वाचित

काठमाडौं । नेपाल इन्जिनियरिंङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरको वोर्ड (सञ्चालक समिति) सदस्य (शिक्षक प्रतिनिधिहरुकोतर्फबाट) सावित्रीकुमारी त्रिपाठी पुग्न सफल भएकी छिन् । सदस्य चुनिनका लागि भएको निर्वाचनबाट विजयी भएपछि त्रिपाठी नेक वोर्ड सदस्य बन्न सफल भएकी हुन् ।
वोर्ड सदस्य पदका लागि दुईजना शिक्षकहरुवीच चुनावी प्रतिस्पर्धा भएको थियो । चुनावी प्रतिस्पर्धाबाट शिक्षक रामप्रसाद सुवाललाई पराजित गरी त्रिपाठी विजयी बनेकी थिइन् । त्रिपाठीले सुवाललाई झिनो मतले पराजित गरेकी थिइन् ।
निर्वाचनमा कलेजमा कार्यरत शिक्षकहरुले मतदान गरेका थिए । विजयी त्रिपाठीले ५५ मत पाएकी थिइन् । उता पराजित सुवाल ४८ मतमा खुम्चिएका थिए । कुल मतदाता भने एक सय १३ जना रहेका थिए । शिक्षककोतर्फबाट भएको निर्वाचनमा शिक्षक मात्रै मतदाता रहने व्यवस्था छ ।
विजयी त्रिपाठीको उम्मेदबारी राजनीतिक दलहरुकोतर्फबाट संयुक्त रुपमा परेको थियो । पराजित सुवाल भने स्वतन्त्रबाट उम्मेदबार थिए । विजयी त्रिपाठीका लागि प्रस्तावकमा दिवंंगर खोटेजा थिए भने समर्थकमा दीपकबहादुर धामी रहेका थिए । खोटेजा कलेजमा कार्यरत शिक्षकहरुमध्येबाट नेकपा एमाले निकट प्राध्यापकहरुको संगठन नेपाल प्रगतिशिल प्राध्यापक संगठन नेक एकाई समितिका अध्यक्ष हुन् भने समर्थक धामी नेपाली कांग्रेस निकट प्रजातन्त्रवादी प्रध्यापक संघ नेक एकाई समितिका अध्यक्ष हुन् । स्वतन्त्रबाट उम्मेदबारी दिएका सुवालको प्रस्ताबकमा राघव स्याङदन र समर्थकमा कृष्णराम भण्डारी रहेका थिए । सञ्चालक समितिको सदस्यमा विजयी हासिल गरेपछि विजयी त्रिपाठीले कलेजको हरेक बोर्ड वैठकमा शिक्षक प्रतिनिधिहरुकोतर्फबाट सदस्यका हिसावले सहभागी हुन पाउने छन् ।
कलेज सञ्चालक समितिको अध्यक्षमा हाल कलेज सञ्चालक भक्तपुरको चाँंगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री रहेका छन् । सञ्चालक समिति नौ सदस्यीय रहेको छ । सञ्चालक समितिको सदस्य सचिवमा कलेजका प्राचार्य रहने व्यवस्था भए बमोजिम कलेजका प्राचार्य एसोसिएट प्रोफेसर दुर्गाप्रसाद भण्डारी रहेका छन् । बाँंकी सदस्यहरुमा भने भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी भण्डारी, पोखरा विश्वविद्यालयकातर्फबाट अर्जुन गौतम रहेका छन् । अन्य बाँकी वोर्ड सदस्यहरुमा कलेज रहेको क्षेत्रमा रहेका ठूला राजनीतिक पार्टीहरु नेपाली कांग्रेसबाट सोमप्रसाद प्रधान (चाँंगुनारायण नगरपालिका वडा नं २ का वडा अध्यक्ष पनि), नेकपा माओवादी केन्द्रबाट नरेश खड्का वोर्ड सदस्इ रहेका छन् । साथै स्थानीय समाजसेवी एवं अगुवा दिनेश खनाल, सन्तोष केसी पनि सदस्य रहेका छन् ।
यसअघि शिक्षक प्रतिनिधिहरुकोतर्फबाट वोर्ड सदस्य हालका प्राचार्य दुर्गाप्रसाद भण्डारी रहेका थिए । उनी प्राचार्यमा बढुवा भएपछि उक्त सञ्चालक समितिको सदस्य पद खाली भएको थियो ।
यसबाहेक कलेजलाई नियमित सञ्चालनका लागि प्राचार्य भण्डारीको नेतृत्वमा व्यवस्थापन समिति छ । समितिमा कलेजका सहप्राचार्य एसोसिएट प्रोफेसर मोहनध्वज केसी, विभिन्न विभागीय प्रमुखहरु तथा प्रशाशनलगायतका अन्य शाखाहरुबाट प्रतिनिधिहरु सदस्यहरु रहेका छन् ।