मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भनेको भ्रष्टाचार भएको बताउनु भएको छ । बुधबार ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस समारोहमा सम्बोधन गर्नेक्रममा प्रधानमन्त्री कार्कीले सो कुरा बताउनु भएको हो । उहाँले मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार नै भएको बताउँदै भ्रष्टाचार आर्थिक अनियमितता मात्रै नभएर यो विपन्न, अशक्त र अवसरबाट वञ्चित नागरिकको मौलिक अधिकार खोस्ने गम्भीर मानव अधिकार उल्लङ्घन भएको बताउनु भएको छ ।

उहाँले जब कुनै आयोजना भ्रष्टाचारले ग्रस्त हुन्छ, बिरामी नागरिक उपचार पाउने अधिकारबाट वञ्चित हुन्छन्, विद्यार्थी गुणस्तरीय शिक्षाबाट रोकिने बताउनु भएको छ । प्रधानमन्त्री कार्कीले आज २१औँ शताब्दीमा मानव अधिकारको दायरा अत्यन्त फराकिलो बनेको बताउँदै अब मानव अधिकार भनेको केवल जीवित रहनु मात्र होइन, आत्मसम्मानका साथ बाँच्न पाउनु, राज्यका निर्णयमा प्रश्न गर्न पाउनु, स्वच्छ वातावरणमा रमाउने अवसर पाउनु, र डिजिटल विश्वसँग समान र स्वच्छ पहुँच पाउनु पनि भएको धारणा राख्नुभएको छ ।

उहाँले विशेषगरी हाम्रो नयाँ पुस्ता जेनजीले मानव अधिकारलाई कानुनी ग्रन्थमा सीमित नराखेर व्यावहारिक नतिजासँग जोडेर हेर्ने गरेको समेत बताउनु भएको छ। सामाजिक सञ्जाल तथा डिजिटल प्लाटफर्ममार्फत उनीहरूले गरिरहेको खबरदारी लोकतन्त्रको सुन्दर प्रकटीकरण हो, र म यसलाई सम्मान गर्दछु। सरकार युवाहरूको डिजिटल अधिकार, गोपनीयताको अधिकार, नवप्रवर्तन र सिर्जनात्मक क्षमतालाई नीति निर्माण र कार्यान्वयनमा समाहित गर्न दृढताका साथ अघि बढ्ने उहाँले बताउनु भएको छ । प्रधानमन्त्री कार्कीले सरकारले भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्ने वचनबद्धता व्यक्त गरेको उल्लेख गर्दै पारदर्शिता र जवाफदेहिताको वातावरणबिना मानव अधिकार सुरक्षित रहन नसक्ने र यस दिशामा सरकार दृढतापूर्वक अघि बढिरहेको उल्लेख गर्नुभएको छ ।