जाँचबुझ आयोगद्वारा एमाले अध्यक्षओलीको निवासमा गई लियो बयान : स्थानहदबारे निर्णय हुन बाँकी
काठमाडौं । गत भदौमा भएको युवा (जेन जी) आन्दोलनको घटना छानबिन गर्न बनेको जाँचबुझ आयोगले तात्कालिक प्रधानमन्त्री केपी शर्मा ओलीको बयान लिएको आयोगका प्रवक्ता विज्ञानराज शर्माले बताएका छन् । शर्माले अध्यक्ष ओलीलाई आइतवार पत्र पठाइएपछि आयोगका पदाधिकारीले उनको निवासमा गई लिखित रूपमा राखेको बताएका छन् ।
पुर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले यस अघि आयोगमा बयान दिन नजाने अडान बारम्बार दोहोर्याउदै आएका थिए । उनको बयान लिएपनि अहिलेसम्म स्थनहदका बारेमा भने निर्णय भइ नसकेको शर्माले बताएका छन् ।
आयोगले ओलीलाई अनुमतिबिना काठमाण्डूबाहिर जान नपाउने गरी स्थानहद तोकेको छ।यसअघि ओलीको दल नेकपा एमालेका एक पदाधिकारीले ओलीकहाँ आयोगको पत्र पुगेको पुष्टि गरेका थिए।”आयोगले पत्र पठायो,” नाम खुलाउन नचाहेका ती पदाधिकारीले ओली स्वयं बयानका निम्ति आयोगको कार्यालय भने नजाने दाबी गर्दै भनेका थिए, “उक्त पत्रको आधारमा आयोगका एक सहसचिव (बयानका निम्ति) घरै जाने भन्ने सुनेको छु।”
नवयुवाहरूले भदौ २३ गते गरेको प्रदर्शनमा सुरक्षाकर्मीहरूले चलाएको गोली लागेर कैयौँ व्यक्तिहरूको मृत्यु भएको थियो। त्यसको भोलिपल्ट आन्दोलन चर्किएपछि राजधानी काठमाण्डूसहित विभिन्न स्थानमा हिंसात्मक गतिविधिहरू, लुटपाट, तोडफोड र आगजनीका घटनाहरू भएका थिए। त्यसपछि ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। एमालेका अध्यक्षसमेत रहेका ओली र अन्य नेताहरूले गौरीबहादुर कार्की नेतृत्वको उक्त आयोगको निष्पक्षतामाथि प्रश्न उठाउँदै त्यसको आलोचना गर्दै आएका छन्। आयोगले तात्कालिक गृहमन्त्री रमेश लेखक तथा सुरक्षा निकायका नेतृत्वहरूसँग बयान लिइसकेको छ।


