कोरिया जान नपाएको भन्दै माईतीघरमा प्रर्दशन
काठमाडौँ । रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण भएर पनि लामो समयसम्म दक्षिण कोरिया जान नपाएको भन्दै युवा युवतीहरूले काठमाडौँमा प्रदर्शन गरेका छन् । कृषि तथा पानीजहाज क्षेत्रका लागि भाषा उत्तीर्ण गरेर रोस्टरमा वर्ष दिनभन्दा लामो समयसम्म नाम रहँदा पनि जान नपाएको भन्दै उनीहरुले मंगलबार काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका हुन् ।
भाषा तथा सीप परीक्षा उत्तीर्ण गरेर रोस्टरमा रहेको दुई वर्षसम्म पनि रोजगारदाताको छनोटमा नपरे नाम हट्ने भएकाले दुई वर्ष म्याद थप गर्न माग गरेका छन् । प्रदर्शनमा सहभागीहरूले इपीएसको लुट धन्दा बन्द गर, कृषि तथा पानीजहाजको रोष्टर अवधि थप गर, पासरलाई छिटो भन्दा छिटो कोरिया लगियोस्, २ वर्ष म्याद थप गरियोस् लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।


