शहीदको आकांक्षा साकार पार्न सबै पक्षलाई राष्ट्रपति पौडेलको आग्रह

काठमाडौं । आज (शुक्रबार) देशैभर विभिन्न कार्यक्रमको आयोजना गरी शहीद दिवस मनाइएको छ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदानी दिएका शहीदहरूलाई स्मरण गर्दै हरेक वर्ष माघ १६ गते यो दिवस मनाइने गरिन्छ । मुलुकमा जहानियाँ राणाशासन रहेका बेला प्रजातन्त्र ल्याउन आफ्नो जीवन त्याग गर्ने चार शहीद धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्रीको सम्झनामा यो दिवस मनाउने गरिन्छ । विसं २०१२ देखि तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको थियो ।

राणा शासनविरुद्ध आवाज उठाएको भन्दै विसं १९९७ मा चारै जनालाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो । राणा शासकले त्यो वर्षको माघ १० गते शुक्रराज शास्त्रीलाई काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा, माघ १६ गते गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई शोभाभगवतीमा मृत्युदण्ड दिएको थियो । शहीदको त्यो बलिदानको प्रेरणाले सुरु भएको क्रान्तिको बलमा त्यसको १० वर्षपछि विसं २००७ मा नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो।

यसैक्रममा त्यसअघि र त्यसपछि देश, लोकतन्त्र, गणतन्त्रका लागि ज्यानको आहुति दिने सम्पूर्ण ज्ञात–अज्ञातहरूलाई पनि सम्झिने गरिन्छ । यसैक्रममा माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह पनि मनाइन्छ । यसवर्षको शहीद दिवसमा बिहानै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्कीदेखि राज्यका पदाधिकारी, विभिन्न राजनीतिक दलका नेतासम्मले शहीदको बलिदानलाई स्मरण गरेर भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् । यस अवसरमा राष्ट्रपति पौडेलले नेपाल राष्ट्र र नेपाली जनताको स्वाधीनताका लागि शहादत प्राप्त गरेका शहीदहरूको आकांक्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुन सबैसँग आग्रह गरेका छन् ।

उनले नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन इतिहासका विभिन्न कालखण्डमा सामन्ती, निरंकुश र तानाशाही शासन व्यवस्थाविरुद्ध भएका विभिन्न आन्दोलनहरुमा आफ्नो जीवन बलिदान गर्ने वीर वीरंगनाहरूप्रति सम्झना गर्दै हरेक वर्ष माघ १६ गतेलाई सहिद दिवसको रूप्मा हामीले मनाउँदै आएका छौँ,’ राष्ट्रपति पौडेलले सन्देशमार्फत् भनेका छन्,‘महान् शहीदहरूको बलिदानद्वारा प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै शहीदप्रति सच्चा श्रद्धाञ्जली हुने विश्वास लिएको छु ।’

यसैक्रममा प्रधानमन्त्री सुशीला कार्कीले शहीद स्मारक लैनचौरमा श्रद्धाञ्जली अर्पण गरेकी छिन् । इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरूको सम्मानमा साताव्यापी कार्यक्रम गरी शहीद दिवस मनाउने परम्परा छ । साताव्यापी कार्यक्रमको अन्तिम दिन आज शहीद उद्यान लैनचौरमा विशेष श्रद्धाञ्जली सभा आयोजना हुने गरिएको थियो । शान्ति वाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड, मार्चपास र शहीदको तस्बिर राखिएको बग्गीसहितको प्रभातफेरी शहीद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जली सभामा परिणत भएको छ ।

सो सभामा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि र सुरक्षा अंगका प्रमुखहरुको सहभागिता थियो ।सरकारले शहीद दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ । शहीद दिवसको अवसरमा विगतमा दिने गरिएको सार्वजनिक बिदा केन्द्र सरकारले कटौती गरेको थियो । यद्यपि २०८१ सालदेखि भने शहीद दिवसको दिन सार्वजनिक बिदा दिने निर्णय सरकारले २०८० सालमै गरिसकेको थियो ।