स्मार्ट सेलको धितो बिक्री गरी इन्भेष्टमेन्ट मेगा बैंकद्वारा कर्जा असुली
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले स्मार्ट टेलिकम प्रालिमा फसेको चार अर्ब ६० करोड ऋण उठाएको छ । बैंकले २०६२ सालमा नै पैसा उठाउन ३५ दिने सूचना प्रकाशन गरेर लिलामी प्रक्रियामा गए पनि सकेको थिएन । अहिले बैंकमा धितोमा रहेका स्मार्ट सेलका दूरसञ्चार उपकरण बिक्री गरेर ऋण असुली गरेको हो ।
कम्पनीका अध्यक्ष सर्वेश जोशीको व्यक्तिगत जमानीमा बैंकमा स्मार्ट टेलिकम प्रालिले कर्जा लिन धितो राखेको दूरसञ्चार सेवासँग सम्बन्धित विभिन्न उपकरण तथा सामग्रीहरू बेचेर चार अर्ब ६० करोड रुपैयाँ ऋण असुली गरेको छ ।
ऋणीले काठमाडौंको दरबारमार्गमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट कर्जा लिएको र सो क्रममा भएको सर्त कबुलियतअनुसार साँवा र ब्याज किस्ता नबुझाएको बैंकले ३५ दिने सूचनामा उल्लेख गरेको थियो । बैंकसँग गरेको सर्त उल्लंघन भएकाले निजहरूलाई पटक–पटक लिखित एवं मौखिक तरताकेता तथा २०६२ साउन २३ मा ३५ दिने सार्वजनिक सूचना प्रकाशन गर्दा समेत भाखा नाघेको कर्जा चुक्ता भुक्तान गर्नेतर्फ कुनै पहल नगरी बेवास्ता गरेको बैंकले उल्लेख गरेको छ ।

सोही क्रममा २०६२ असोज ०३ मा राष्ट्रिय दैनिक पत्रिकामा प्रचलित बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनबमोजिम १५ दिने लिलाम बिक्री सूचना निकालिएको बैंकले जनाएको छ । सूचनामार्फत गोप्य सिलबन्दी बोलपत्र आह्वान गरिए पनि अन्तिम २०८२ असोज १९ सम्म ऋणीले कर्जा बुझाउन कुनै चासो नदिएको बैंकको भनाइ छ । सो क्रममा सूचनाको म्यादभित्र धितोमा रहेको सम्पत्ति सकारका लागि आएका बोलपत्रहरू बैंकको शाखा कार्यालय राइजिङ मल कमलादीस्थित कर्जा असुली विभागमा खोलिने पत्रमार्फत ऋणीलाई जानकारी गराएको थियो । तर ऋणीले चासो नदिएपछि बैंकले धितोमा रहेको स्मार्ट टेलिकमको विभिन्न दूरसञ्चार उपकरण लिलाम बिक्रीको लागि प्रक्रिया सुरु गरेको थियो ।
बैंकले आह्वान गरेको धितो लिलाम बिक्री प्रक्रियामा टान्सगेट टेक प्रालि, एनसेल आजियाटा प्रालि र प्रोफेसनल बिजनेसन नेटवर्क प्रालिले बोलपत्र पेस गरेका थिए । जसमध्ये टान्सगेटले ४४ करोड २० लाख, प्रोफेसनल बिजनेस नेटर्वकले ४२ करोड ५० लाख र एनसेल आजियाटाले चार अर्ब ६० करोड रुपैयाँमा खरिद गर्ने बोलपत्र पेस गरेको बैंंकले जनाएको छ । सबैभन्दा बढी एनसेल आजियाटाले पेस गरेको सोही बोलपत्रको आधारमा बैंकले एनसेललाई चार अर्ब ६० करोड रुपैयाँमै स्मार्ट सेलको नाममा बैंकका धितो कायम रहेको विभिन्न उपकरणहरू बिक्री गरेको हो ।
एनसेलले उक्त उपकरण खरिद गरेपछि नेपाल इन्भेष्टमेन्ट बैंक आफ्नो चार अर्ब ६० करोड रुपैयाँ ऋण असुली गर्न सफल भएको छ । ऋण असुलीकै प्रक्रियाकै क्रमममा स्र्माट सेलका अध्यक्ष सर्वेश जोशीले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई कर्जा चुक्ता गर्ने सम्बन्धमा पत्र लेखेका थिए ।
पत्रमा उनले आफू संलग्न रहेको स्मार्ट टेलिकम प्रालिले बैंकबाट विभिन्न कर्जा तथा बैंकिङ सविधा लिई उपभोग गरेकामा कर्जा तथा बैंकिङ सविधा अनियमित भएको उल्लेख गरेका छन् । बैंकबाट पटक पटक मौखिक तथा लिखितरूपमा कर्जा तथा बैंकिङ सुवेधा तिर्न अनुरोध आए पनि हालसम्म कर्जा तथा बैंकिङ सुविधा नियमित गर्न नसकेको सत्य रहेको बताएका छन् ।

‘यस कम्पनी तथा मैले समेत त्यस बैंकको कर्जा तथा बैंकिङ सुविधाबापतको रकम तिर्न सक्ने अवस्था नरहेकोले तपाईँ बैंकको नियमअनुसार सुरक्षणमा रहेको सामान तथा सम्पत्तिहरू लिलाम बिक्री गरी तपाईँ बैंकले यस ‘कम्पनीबाट लिनुपर्ने रकम असुल गर्नुहुन अनुरोध गर्दछौँ’, पत्रमा जोशीले भनेका छन्, ‘पछि सुरक्षणमा रहेको सामान तथा सम्पत्तिहरू कम मूल्यमा बिक्री गरेको वा त्यसरी लिलाम बिक्री गर्न पाउने होइन भनी कुनै पनि उजुरबाजुर गर्ने छैनौँ । गरे/गराएमा यसै पत्रबाट बदर गरिदिनुहोला भनी त्यस बैंकलाई मन्जुरीसहित यो पत्र लेखिदिएको व्यहोरा जानकारी गराउछौँ ।’
स्मार्ट टेलिकमका अध्यक्ष सर्वेश जोशीले २०८२ भदौ २० गते नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई पत्र पठाएका थिए । सोही पत्रपछि बैंकले ती उपकरण लिलामको प्रक्रिया अघि बढाएको थियो । बैंकले स्मार्ट टेलिकमलाई प्रोजेक्ट लोन दिएको थियो । तर स्मार्ट टेलिकम बन्द भएपछि कर्जा उठ्ने सम्भावना कम हुँदै गएको थियो ।
स्मार्ट टेलिकमले उपकरण बेचेर कर्जा उठाउन अनुमति दिएपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अत्यन्त जोखिममा परेको चार अर्ब ६० करोड रुपैयाँ कर्जा असुलउपर गरेको हो । स्मार्ट टेलिकमविरुद्ध परेको एक मुद्दामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ऋणी समार्ट टेलिकमसँग कुनै रकम लिन बाँकी नरहेको भनी गत पुस ३० गते प्रत्युत्तर लगाएपछि स्मार्ट टेलिकममा डुबेको रकम उठेको खुलेको हो ।


