राष्ट्रपति पौडेलद्वारा पूर्वप्रधानमन्त्री ओलीलाई सम्वेदना प्रकट
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पितृशोकमा रहनुभएका पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति सम्वेदना प्रकट गरेको बताइएको छ । राष्ट्रपति पौडेलले अध्यक्ष ओलीलाई भेटी उनका पिताको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रपति पौडेलले मंगलबार गुन्डु पुगेर दिवङ्गत मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले यस कठिन घडीमा शोकलाई शक्तिमा बदल्न र धैर्यधारण गर्न अध्यक्ष ओली र उनको परिवारलाई आग्रह समेत गरेका छन्।

अध्यक्ष ओलीका पिताको निधनले सिंगो परिवारमा पर्न गएको अपूरणीय क्षतिप्रति राष्ट्रपतिले गहिरो सहानुभूति समेत व्यक्त गरेको बताइएको छ । केहीदिनअघि ओलीलाई समवेदना दिन प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाललगायत विभिन्न दलका नेताहरू पुगेका थिए ।


