मध्यपूर्वको द्वन्द्वमा ७ नेपाली पक्राउ, २० घाइते : परराष्ट्र मन्त्रालय

काठमाडौं। परराष्ट्र मन्त्रालयले मध्यपूर्वको द्वन्द्व र त्यसबाट प्रभावित नेपाली नागरिकहरूको पछिल्लो अवस्थाबारे जानकारी सार्वजनिक गरेको छ। मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा प्रवक्ता लोकबहादुर पौडेलले दिएको जानकारी अनुसार, द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपालीहरूको सुरक्षाका लागि सरकारले उच्च सतर्कता अपनाएको छ।

हालसम्म नेपाल सरकारको अनलाइन दर्ता प्रणालीमा ८२ हजार १०० जना नेपाली नागरिकहरू आबद्ध भइसकेका छन्। यस द्वन्द्वका क्रममा संयुक्त अरब इमिरेट्स ९यूएई०मा एक जना नेपाली नागरिकको दुःखद निधन भएको थियो।

त्यस्तै, विभिन्न घटनामा परी २० जना नेपालीहरू सामान्य घाइते भएका छन्। जसमध्ये १९ जना उपचारपछि निको भई घर फर्किसकेका छन् भने बाँकी एक जनाको अवस्था पनि सामान्य रहेको र छिट्टै अस्पतालबाट डिस्चार्ज हुने तयारीमा रहेको मन्त्रालयले जनाएको छ। हवाई उडानमा आएको अवरोधका कारण विभिन्न देशका ट्रान्जिटमा रोकिएका नेपालीहरूको पनि सफल व्यवस्थापन गरिएको छ।

दोहा र दुबईमा अब कुनै पनि नेपाली अलपत्र नरहेको र जेद्दामा रहेका ५२ जना हजयात्रीहरू नेपाल फर्किसकेको जानकारी दिइएको छ। कुवेत सिटीमा रोकिएका ३३ जनाको पनि भिसा प्रक्रिया मिलाएर गन्तव्यतर्फ पठाइसकिएको छ।

मन्त्रालयले द्वन्द्वको समयमा स्थानीय कानुनको उल्लंघन हुने गरी फोटो वा भिडियो खिच्ने र सामाजिक सञ्जालमा सेयर गर्ने कार्य नगर्न कडा चेतावनी दिएको छ। यस्ता गतिविधिमा संलग्न भएको आरोपमा हालसम्म ७ जना नेपालीहरू पक्राउ परेका छन्।

स्थानीय कानुन अनुसार यस्तो कसुर गर्नेलाई एक वर्षसम्म कैद सजाय र त्यसपछि देश निकाला गरिने प्रावधान रहेकाले सबैलाई सचेत रहन आग्रह गरिएको छ। नेपाल सरकारले अन्तर्राष्ट्रिय स्तरमा पनि कुटनीतिक पहल जारी राखेको छ।