रासायनिक मलको समस्या समधान गर्न प्रधानमन्त्री ओलीद्वारा कृषिमन्त्री अधिकारीसंग छलफल
काठमाडौं, २७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मलको सहज आपूर्ति, खेतीको अवस्था लगायत विषयमा कृषि तथा पशुपंक्षी विकासमन्त्री, सचिव र सम्बन्धित निकायका अधिकारीसँग आज छलफल गर्दै हुनुहुन्छ । प्रधानमन्त्री ओलीले सो विषयमा छलफल गर्न मंगलबार दिउँसो कृषिमन्त्री रामनाथ अधिकारी, सचिव डा. गोविन्दप्रसाद शर्मा र कृषि सामग्री कम्पनी लिमिटेडका पदाधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदबारमा बोलाउनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले किसानलाई आवश्यक पर्ने मलको मौज्दात हुँदा र थप मल आउने क्रम जारी रहँदा पनि किसानले समयमा मल नपाएको गुनासो आएपछि समस्या समाधानकालागि सो छलफल गर्न लागिएको बताइएको छ । प्रधानमन्त्री ओलीले खेतीपातीको समय हुनु अगावै कृषिमन्त्रीसहित सम्बन्ध अधिकारीसँगको छलफलमा मलको अभाव नहुने गरी काम गर्न र नेपालमै रासायनिक मलको उत्पादन कारखाना खोल्न तथा प्राङ्गारिक मलको उत्पादन र प्रयोग बढाउने योजना ल्याउन निर्देशन दिनुभएको थियो ।


