विवाहको खुसी साट्न नपाउँदै जन्ती बोकेको बस भिरबाट खस्यो
सविता बुढा
धनगढी । बिहीबार साँझको समय थियो। बैतडीको पुर्चौडी नगरपालिका–७, भवनेमा विवाहको उल्लास सकिएर जन्तीको टोली बझाङ फर्कने तयारीमा थियो। दुलही अन्माएपछि बेहुला पक्षका आफन्त र गाउँलेहरू खुसी साट्दै बसमा चढे। गन्तव्य थियो– बझाङको बित्थडचिर। तर, त्यो खुसी लामो समय टिक्न पाएन। यात्रा सुरु भएको केही समयमै खुसीको माहौल चिच्याहट र रुवाबासीमा परिणत भयो। जन्ती बोकेको पवनदूत यातायातको सु.प.प्र. ०२–००१ ख १११९ नम्बरको बस पुर्चौडी नगरपालिका–७ स्थित बडगाउँको घुम्तीबाट करिब २०० मिटर तल खस्दा १३ जनाले ज्यान गुमाएका छन्।
यो दुर्घटनाले बैतडीको पुर्चौडी र बझाङको बित्थडचिर दुवै गाउँलाई शोकमा डुबाएको छ। यति मात्र होइन, सिङ्गो सुदूरपश्चिम अहिले स्तब्ध छ। प्रहरीका अनुसार बिहीबार राति करिब साढे ७ देखि ८ बजेको बिचमा यो दुर्घटना भएको हो। साँझ परिसकेको र पहाडी बाटोको अप्ठ्यारो मोड भएकाले दुर्घटनाको खबर पाउन र उद्धार टोली पुग्न केही समय लागेको थियो। जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी दीपककुमार रायका अनुसार प्रहरीलाई खबर आउँदा रातको ८ बजिसकेको थियो।
‘खबर पाउनासाथ हाम्रो टोली स्थानीय चौकी, इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरीको टोलीसहित घटनास्थल पुग्यो,’ डीएसपी रायले भने, ‘रातको समय, भौगोलिक विकटता र भिरको बाटो भएकाले उद्धारमा निकै कठिनाइ भयो। हामीले टर्च बालेर स्थानीयको सहयोगमा घाइतेहरूको उद्धार गर्यौँ।’ बस सडकबाट निकै तल खसेकाले घाइतेहरू भिरमा छरिएका थिए। प्रहरी र स्थानीयले रगतपिच्छे भएका घाइतेहरूलाई बोकेर सडकमा ल्याए।
उद्धार गरिएको केही समयमै ६ जनाको घटनास्थलमै मृत्यु भयो भने अन्यको उपचारका क्रममा ज्यान गयो। दुर्घटनास्थल बडगाउँको मोड पहाडी बाटोको साँघुरो र घुम्ती परेको स्थान हो। प्रारम्भिक अनुसन्धानबाट बस मोडमा ब्याक गर्ने क्रममा सडकबाट तल खसेको देखिन्छ। ‘बाटो एकदमै साँघुरो छ। घुम्तीमा बस मोड्न नपुगेपछि चालकले ब्याक गरेर अगाडि बढाउन खोजेको देखिन्छ।
त्यही ब्याक गर्ने क्रममा पछाडिको भाग भिरतिर गयो र बस अनियन्त्रित भई तल खस्यो,’ डीएसपी रायले भने।दुर्घटनाको समयमा बसमा करिब ५० जना सवार थिए। बस पुरानो भए(नभएको वा यान्त्रिक गडबडी थियो भन्ने विषयमा प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ। चालकलाई सामान्य चोट लागेको छ र उनी प्रहरी नियन्त्रणमा छन्।
एकै परिवारमा बज्रपात
मृतकहरू अधिकांश बेहुलाका नजिकका आफन्त हुन्। दुर्घटनामा ज्यान गुमाउनेमा ४२ वर्षीय नरेन्द्रराज जोशी र ४१ वर्षीय विष्णुदत्त जोशी सहोदर दाजुभाइ हुन्। उनीहरू बेहुलाका काका हुन्। एउटै घरका दुई खम्बा ढलेपछि जोशी परिवारमा ठुलो बज्रपात परेको छ। नरेन्द्रराज बित्थडचिर गाउँपालिकाका प्राविधिक सहायक थिए भने विष्णुदत्त महादेव माध्यमिक विद्यालयका शिक्षक थिए।
उनीहरूका दाजुका छोरा (भतिज) ३५ वर्षीय वसन्तराज जोशीको पनि सोही दुर्घटनामा मृत्यु भएको छ। वसन्तराज कृषि प्राविधिक थिए। उनी दार्चुलाको शैल्यशिखर नगरपालिका–१, बलाँचको वडा सचिवको जिम्मेवारीसमेत सम्हालिरहेका थिए।
यस्तै, बझाङ केदारस्युँ गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट र उनका छोरा केशवराज भट्टको सोही दुर्घटनामा निधन भएको छ। बाबु–छोरा नै जन्ती गएका उनीहरूको शव एकैसाथ घर फर्किँदा गाउँमा सन्नाटा छाएको छ। दुर्घटनामा बेहुलीका आफ्नै १४ वर्षीय भाइ सुशील जोशीको पनि मृत्यु भयो। दिदीको विवाहमा रमाइलो गर्न जन्तीको बसमा चढेका सुशीलले पनि सोही दुर्घटनामा ज्यान गुमाए।
बेहुला–बेहुली सुरक्षित तर मानसिक पीडामा
बेहुला र बेहुली भने उक्त बसमा थिएनन्। उनीहरू छुट्टै सानो गाडी (कार) मा सवार भएकाले सकुशल छन्। बेहुला–बेहुली अगाडि छुट्टै गाडीमा थिए। उनीहरूलाई शारीरिक चोट त लागेन, तर मानसिक रूपमा भने उनीहरू दुर्घटनापछि निकै पीडामा रहेको आफन्तहरू बताउँछन्।
मृतक र घाइतेको विवरण
प्रहरीको पछिल्लो विवरणअनुसार दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको छ। घटनास्थलमा ६ जना, स्वास्थ्य चौकीमा २ जना र डडेल्धुरा अस्पताल ल्याउँदै गर्दा ५ जनाको मृत्यु भएको हो। अन्य मृतकहरूमा बझाङ बित्थडचिर–७ का ४० वर्षीय केशवराज जोशी, १३ वर्षीय अशोकराज जोशी, १८ वर्षीय विसनदत्त जोशी, २७ वर्षीय दिपकराज जोशी, ४५ वर्षीय किसनदत्त जोशी, बझाङ जयपृथ्वी नगरपालिका–७ का ४० वर्षीय बसन्तराज रतला र बैतडी पुर्चौडी–७ की ४० वर्षीया पुष्पा अवस्थी रहेका छन्। घाइतेहरूको उद्धार गरी विभिन्न अस्पतालमा पठाइएको छ।
डीएसपी रायका अनुसार गम्भीर घाइते भएका ७ जनालाई धनगढी ‘रेफर’ गरिएको छ। २३ जनाको डडेल्धुरामा उपचार भइरहेको छ भने ४ जनाको बझाङको देउलेक स्वास्थ्य केन्द्रमा उपचार हुँदैछ। बैतडी प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ। दुर्घटना के कारणले भयो र यति ठुलो क्षति कसरी हुन पुग्यो भन्ने कुरा विस्तृत अनुसन्धानपछि खुल्ने डीएसपी रायले जानकारी दिए। दुर्घटनापछि बस क्षतविक्षत भएको छ। (रातोपाटीबाट साभार)


