सरकारद्वारा तराई प्रदेशको सुख्खा समस्या समधान गर्न सुनकोशी–मरिन डाइभर्सनको काम सुरु : प्रधानमन्त्री ओली
पृथ्वीपोस्ट संवाददाता ।
काठमाडौँ, २५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले तराईमा सिँचाइको स्थायी समाधान गर्नका लागि सरकार दृढ रहेको बताउनु भएको छ । मधेस प्रदेशका ८ जिल्लामा ७६ दशमलव ५४ प्रतिशत रोपाइँ भएपछि उहाँले सामाजिक सञ्जाल मार्फत सो जानकारी गराउनु भएको हो । उहाँले तराईमा सिँचाइको स्थायी समाधान गर्न सरकारले उपायको खोजि कार्यलाई तीब्रता दिएर काम गरि रहेको बताउनु भएको छ । उहाँले तराईमा आगामी वर्षदेखि आकासे वर्षाको निर्भरता हटाएर सिँचाइको स्थायी समाधान ल्याउने सरकारको संकल्प समेत गर्नुभएको छ ।
उहाँले वर्षासँगै सुक्खाले संकटग्रस्त मधेस प्रदेशमा रोपाइँ सुरु भएकामा समेत खुशी व्यक्त गर्नुभएको छ । उहाँले आगामी वर्षदेखि आकासे वर्षाको निर्भरता हटाएर सिँचाइको स्थायी समाधान ल्याउने सरकारको संकल्प रहेको र अब त्यो दिन धेरै टाढा नभएको समेत बताउनु भएको छ । उहाँले तत्कालका लागि ५ सय वटा डिपबोरिङ जडानको काम सुरु गरिएको बताउदै दीर्घकालीन समाधानका लागि सुनकोशी–मरिन डाइभर्सनको काम अघि बढाइएको समेत बताउनु भएको छ ।


