काठमाडौको चाबहिलबाट चिनियाँ र अमेरिकन नागरिक पक्राउ
काठमाडौँ । नेपालमा बसेर शङ्कास्पद गतिविधि गरेको आरोपमा अध्यागमन विभागले एक जना चिनियाँ नागरिक र एक जना अमेरिकनलाई पक्राउ गरेको छ । सोमबार चिनियाँ नागरिकलाई चाबहिलबाट र अमेरिकन नागरिकलाई ठैवबाट पक्राउ गरिएको अध्यागमन विभागले जनाएको छ ।
उनीहरू भिसाको उद्देश्य विपरीत शङ्कास्पद गतिविधिमा संलग्न रहेको विभागको प्रारम्भिक अनुसन्धानबाट थाहा भएपछि पक्राउ गरिएको बताइएको छ । विभागले उनीहरूको नाम सार्वजनिक गरेको छैन । पकनाजोलमा फ्ल्याट लिएर बस्दै आएका चिनियाँ नागरिक २०१२ मा पर्यटक भिसामा नेपाल आएको र त्यसपछि १३ पटक व्यावसायिक भिसा लिएको भेटिएको छ ।
६ वटा कम्पनी स्थापना गरेर व्यावसायिक भिसा लिए पनि उनले विभिन्न विद्यालयहरूमा अध्यापन गर्दै आएको विभागले जनाएको छ । पर्यटक र व्यावसायिक भिसामा नेपालमा बस्दा विदेशी नागरिकले काम गर्न नपाउने कानुनी व्यवस्था रहेको छ । अमेरिकी नागरिक २०१७ मा पहिलो पटक नेपाल प्रवेश गरेका थिए ।
सन् २०२० मा पुनः नेपाल आएर उनले सिन्धुपाल्चोकको साँगाचोकगढीमा क्याल्भेरी सर्भिस सेन्टर प्रालि नामको कम्पनी स्थापना गरेका थिए । सो कम्पनीको ठेगाना ललितपुरका सैंबुमा उल्लेख गरेको भेटिएको छ । उनले ललितपुरको गोदावरीमा बालगृह सञ्चालन गरेको र बालबालिकालाई क्रिस्चियन धर्म प्रचारमा लगाउने गरेको विभागको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको निर्देशक ढकालले जानकारी दिए ।


