भावना र उत्तेजनाले राजनैतिक समाधान दिन सक्दैन
–राम शरण देउजा
परिवर्तनको चाहना स्वाभाविक हो । स्वभावैले मानिस परिवर्तनकामी हुन्छन । परिवर्तनको नाममा जनताले सुशासन, जवाफदेहिता र नतिजा खोजिरहेका छन् । यही चाहनालाई आधार बनाएर आज ‘पुराना दल हटाऔँ, नयाँलाई ल्याऔँ’ भन्ने अर्थहिन आवाज तीव्र रुपमा अगाडी बढाइएको छ । तर, परिवर्तन चाहने हो भने परिवर्तन सम्भव हुने बाटो पनि पहिल्याउन सक्नु पर्दछ । नयाँ ल्याएर मात्र परिवर्तन सम्भव देख्नेहरुलाई हामीले एउटा गम्भीर प्रश्न सोध्नै पर्ने देखिन्छ, त्यो के भने ‘नयाँको नाममा देशमा परिवर्तन ल्याउछौ भन्ने कुरा उनीहरुले संविधान, राज्य संचालनका आधारभुत संरचना र बर्तमान कानुनहरु बारे बुझेर त्यसो भनिरहेका छन त ?’ पक्कै छैन । नेपालको संविधान २०७२ अनुसार नेपालको संघीय संसद दुई सदनात्मक छ ।
प्रतिनिधि सभा र राष्ट्रिय सभा । प्रतिनिधि सभा विघटन हुन सक्छ, तर राष्ट्रिय सभा विघटन हुँदैन । अहिले राष्ट्रिय सभामा बर्तमान परिवर्तनकारीहरुले पुराना भनेर भनिएका दलहरु कै बहुमत छ र यो अवस्था तुरुन्त बदलिँने पनि देखिदैन । यसले के स्पष्ट हुन्छ भने, संघीय कानुन निर्माणको निर्णायक भुमिकामा पुराना दलहरू नै रहेका छन । देशमा अझै थुप्रै आधारभूत कानुनहरू निर्माणकै क्रममा छन् । संघीयताको पुर्ण कार्यान्वयन, प्रशासनिक सुधार, आर्थिक पुनरुत्थान, सुरक्षा व्यवस्थापन लगायतका महत्वपूर्ण कानुनहरु निर्माण गर्ने कार्यभार बाँकी नै छ ।

——-शासन चलाउन अनुभवि, कानुनी संरचना बुझ्ने क्षमता राख्ने र सामाजिक र राजनैतिक पकड अपरिहार्य हुन्छ । स्थापित पुराना दलहरूका कमजोरीहरू छन भन्दैमा राज्य सञ्चालनको अनुभव र मौजुदा कानुनहरुको निरन्तरता बिना भाद्र २३ र २४ को घटना पछिको भावना र उत्तेजनाले मात्र राजनैतिक समाधान दिन्छ भन्ने कुरा स्वाभाविक छैन र होईन पनि । उत्तेजना र भावनाको मत लिएर निर्वाचन जित्छु भन्नू केवल रिस र इवि साध्ने कुरा मात्र हो ।———-
यी सबै कार्यहरु समपन्न गर्न प्रतिनिधि सभामा नयाँ दलहरुले स्पष्ट बहुमत ल्याए पनि सम्भव छैन । राष्ट्रिय सभाबाट विधेयक पास नभएसम्म न नयाँ कानुन बन्छ, न पुराना समस्या समाधान हुन्छ । यस यथार्थलाई बेवास्ता गरेर गरिन खोजिएको राजनीतिक समाधानले राज्यलाई अझै अन्योलतातिर धकेल्ने खतरा रहन्छ नै । स्थानीय तह मै असफल भएको नयाँको नाममा अगाडि सारिएका पात्र संघिय शासनमा प्रभावकारी हुन्छ्न भन्ने कुरा पत्याउन सकिन्न। कुनै पनी भुगोलको शासन व्यवस्था भावनाले होइन, संवैधानिक प्रक्रिया र कानुनको सर्बोच्चताले चल्छ ।
शासन चलाउन अनुभवि, कानुनी संरचना बुझ्ने क्षमता राख्ने र सामाजिक र राजनैतिक पकड अपरिहार्य हुन्छ । स्थापित पुराना दलहरूका कमजोरीहरू छन भन्दैमा राज्य सञ्चालनको अनुभव र मौजुदा कानुनहरुको निरन्तरता बिना भाद्र २३ र २४ को घटना पछिको भावना र उत्तेजनाले मात्र राजनैतिक समाधान दिन्छ भन्ने कुरा स्वाभाविक छैन र होईन पनि । उत्तेजना र भावनाको मत लिएर निर्वाचन जित्छु भन्नू केवल रिस र इवि साध्ने कुरा मात्र हो ।
आज पुराना दल र त्यसका लाखौ कार्यकर्ताहरूलाई निस्तेज गरेर उनीहरुको मानमर्दन गर्ने हेतुले मनलाग्दी बोलेर वा बोल्न लगाएर समाधान दिन्छु भन्नु मुर्खता सिवाय अरु केही होईन । परिवर्तन चाहनु र परिबर्तन गर्छु भन्ने कुरा अपराध होइन । तर परिबर्तनका आशा देखाएर अस्थिरता तर्फ मुलुकलाई धकल्नु धोखा हो । सुधारिएको नेतृत्व सहितको निरन्तरता अहिलेको आवश्यकता हो ।
स्थापित दलहरूलाई जिम्मेवार बनाउँदै, सुधारको एजेन्डामा सहित संविधान र मौजुदा कानुनहरु कै बाटोबाट देश अघि बढाउनु नै व्यावहारिक र अन्तिम विकल्प हो। त्यसैले आजको चुनावी एजेन्डा ‘नयाँ कि पुरानो’ होइन । आजको एजेन्डा राज्य संचालनका आधारहरु बलियो बनाउने कि उत्तेजना र भावनामा बगेर थप जोखिम निम्ताउने ? पक्कै जिम्मेवारी सहितको परिबर्तन अहिलेको आवश्यकता हो ।


