प्रधानमन्त्री निवासअगाडि सडकमा डोजर तेर्स्याएर निर्माण व्यवसायीको विरोध प्रदर्शन
काठमाडौं, साउन १६ गते निर्माण व्यवसायीहरूले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि प्रदर्शन गरेका छन् ।उनीहरूले मंगलबार बालुवाटारस्थित सडकमा डोजर तेर्साएर प्रदर्शन गरेका हुन् ।
निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण उद्योगमा भएका समस्यालाई सरकारले छिटो सम्बोधन गर्नुपर्ने बताए ।प्रधानमन्त्री र केन्द्र सरकारको ध्यानाकर्षण गर्नको लागि बालुवाटारमा धर्ना दिइएको जारी विज्ञप्तिमा उल्लेख छ । व्यवसायीहरूले केही दिनयता निर्माण कार्यमा भुक्तानी र म्याद थप लगायतका ९ बुँदे मागसहित आन्दोलन गर्दै आएका छन् ।
प्रदर्शनमा व्यवसायीहरूले बीमा निर्देशिका २०७८ खारेज गर्नुपर्ने,जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर्नुपर्ने, विभिन्न निकायमा काम गरे बापतको रकम तुरुन्त भुक्तानी गर्नुपर्ने लगायतका नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।


