चुनावको मौका पारेर सडक कालोपत्रे गर्ने बिटुमिनको कालोबजारी

काठमाडौं । चुनावको मौका पारेर नेपालमा आयातकर्ताहरूले सडक निर्माणमा प्रयोग हुने बिटुमिनको कृत्रिम अभाव सिर्जना गरेका छन् । ठूला आयातकर्ताहरूले यतिसम्म बदमासी गरेका छन् कि निर्माण व्यवसायीबाट बुकिङबापत अग्रीम पैसा र एलसी अर्थात् लेटर अफ क्रेडिट (बैंकको भुक्तानी ग्यारेन्टी पत्र) लिएर त्यहीबाट बिटुमिन नेपाल भित्र्याएर गोदाममा थन्क्याएर अहिले बिटुमिन दिन सक्तिनँ पैसा फिर्ता लैजाऊ भनिरहेका छन् ।

आयातकर्ताहरूको उक्त बदमासीका कारण सडक निर्माणमा संलग्न व्यवसायीहरू ठूलो मर्कामा परेका छन् । निर्माण व्यवसायीहरूले अभावको बारेमा जानकारी गराए पनि कृत्रिम अभाव सिर्जना गर्नेहरूमाथि सरकारले कारबाही नै गर्न सकेको छैन । नेपालमा खपत हुने बिटुमिनमध्ये झण्डै ९० प्रतिशत भारतबाट आयात हुन्छ । नेपालका आयातकर्ताहरूले भारतको भारत पेट्रोलियम, इन्डियन आयल कर्पोरेसन ९आईओसी०, हिन्दुस्तान पेट्रोलियम लिमिटेडबाट बिटुमिन आयात गर्छन् । ती कम्पनीको बिटुमिन गुणस्तरीय मानिन्छ ।

बाँकी १० प्रतिशतजति बिटुमिन भने अन्तर्राष्ट्रिय बोलपत्रमार्फत नेपालमा दुबई, मलेसिया, सिंगापुरबाट भित्रिने गरेको बताइन्छ । कतिपय व्यवसायीहरूले भने नेपालमा गुणस्तरहीन बिटुमिन पनि भारतबाट ल्याइरहेका छन् तर त्यसको कुनै लेखाजोखा छैन । नेपालमा बिटुमिन आयात गर्नका लागि सयौँ कम्पनी दर्ता भए पनि चाररपाँच वटा कम्पनीले मात्र सडकलाई चाहिने बिटुमिन आयात गरिरहेका छन् । उनीहरू सबैले मिलेमतो गरी बजारमा मूल्य वृद्धि गरी अभाव समेत सिर्जना गरिदिएका हुन् ।

सडक कालोपत्रे सुरु भएपछि बिटुमिनको अभाव हुँदा कालोपत्रे गर्न ठीक्क पारिएको सडकमा थप क्षति हुनेछ भने बुकिङ गर्दाको मूल्यभन्दा प्रतिलिटर २०र२५ रुपैयाँ मूल्य वृद्धि गर्दा निर्माण व्यवसायी दोहोरो मारमा परेका हुन् । ‘हामीले प्रतिलिटर ९२ रुपैयाँमा बिटुमिन बुकिङ गरेका थियौँ’, निर्माण व्यवसायीसमेत रहेका नुवाकोट निर्माण व्यवसायी संघका महासचिव सुशील प्रसाद फुयालले भने, ‘भारतबाट बिटुमिन आयातकर्ताहरूले पहिला हामीसँग पैसा लिएर नेपालमा बिटुमिन भित्र्याएर गोदाममा राखे ।

अहिले बिटुमिन नै पाइँदैन, चाहिने भए प्रतिलिटर एक सय १५ रुपैयाँमा लैजानु नत्र बैना स्वरूप दिएको पैसा फिर्ता लिन आउनु भनिरहेका छन् ।’ महासचिव फुयालका अनुसार अहिले विराटनगरदेखि धनगढीसम्मका सबै आयातकर्ताहरूको गोदाममा बिटुमिन छ भन्ने पत्ता लागेको छ तर उनीहरू बुकिङ गरेको मूल्यभन्दा कम्तीमा प्रतिलिटर २०र२५ रुपैयाँभन्दा सस्तोमा दिने पक्षमा छैनन् । तर, सरकारले यसरी कालोबजारी गर्ने आयातकर्ताहरूलाई कुनै कारबाही गरेको छैन  भन्दै आर्थिक दैनिकले समाचार प्रकशन गरेको छ ।

नेपालमा सयौँ कम्पनी बिटुमिन आयातका लागि दर्ता भए पनि पवन कुमार गुप्ताको पायनियर नेपाल, श्रवण गोयल, हितेन्द्र गोयलको अरबिन इम्पेरियल नेपाल, पञ्चकन्य ग्रुपको पञ्चकन्या बिटुमिन ब्यारेल, विजय दुर्गा इन्टरप्राइज प्रालि, नेपाल बिटुमिन एन्ड ब्यारेल उद्योग लिमिटेड, बिकेओआई बिल्डर्स प्रालिहरूले सडकलाई चाहिने बिटुमिन ठूलो मात्रामा आयात गरिरहेका छन् । अरबिन इम्पेरियम प्रालि नेपालको सबैभन्दा ठूलो बिटुमिन आयातकर्ता कम्पनी हो ।

यसले भीजी–१० र ३० ग्रेडको बिटुमिन आयात गर्छ । त्यस्तै गुप्ताको पायनियर नेपाल पनि सडक निर्माणमा बिटुमिन आपूर्ति गर्ने ठूलो कम्पनीमा पर्छ । अरुण प्रकाश मोहपालले भने धनगढीदेखि बुटवलसम्म बिटुमिन सप्लाइ गरिरहेका छन् भने सुशीला खड्काले पञ्चकन्याको बिटुमिन सप्लाइ गर्ने गरेका छन् । अर्का एक निर्माण व्यवसायीका अनुसार बिटुमिन आयातकर्ताहरूले मूल्य वृद्धि गर्न अभाव सिर्जना गरिदिँदा सडकको कालोपत्रे गर्ने काम ठप्पजस्तै भएको छ ।

सिमेन्ट र डन्डीमा पनि मूल्य वृद्धि

चुनावको मौका पारेर कारबाही गर्ने निकाय नहुने भन्दै अहिले व्यवसायीहरूले फलामे डन्डी र सिमेन्टको पनि मूल्य वृद्धि गरेका छन् । डन्डी र सिमेन्टको मूल्य वृद्धिले सरकारी पूर्वाधार मात्र होइन निजी क्षेत्रको पूर्वाधारमा पनि ठूलो आर्थिक भार थपिएको छ । डन्डी र सिमेन्टको मूल्य वृद्धिको बारेमा उद्योगीहरूले निर्माण व्यवसायीलाई चित्तबुझ्दो जवाफ नै दिएका छैनन् ।

फलामे डन्डी प्रतिकेजी ८५ रुपैयाँबाट अहिले एक सय दश रुपैयाँ पु¥याइसकेका छन् । जुन ठेक्का लिँदाको जिल्ला दररेटभन्दा प्रतिकेजी २० देखि २५ रुपैयाँ भएको महासचिव फुयालले जानकारी दिए । सडक कालोपत्रे गर्न प्रयोग गरिने बिटुमिन पेट्रोलियमको कच्चा तेल प्रशोधन गर्दा अन्तिम चरणमा निस्कने भारी पदार्थ हो ।

पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन निकालेपछि त्यसको छोक्रालाई प्रशोधन गरेर तयार पारिने भारी पदार्थ नै बिटुमिन हो । भारतले कच्चा तेल नै खरिद गरेर प्रशोधन गर्ने भएको कारण नेपालमा भारतबाट गुणस्तरीय बिटुमिन आयात हुने गरेको हो । बिटुमिन हालेर सडक पिच गर्दा भित्र पानी छिर्दैन भने लचिलो हुँदा भार बोकेका गाडी गुड्दा पनि सडक फुट्दैन ।

बिटुमिनले सडक निर्माणमा ढुंगा र गिट्टीलाई आपसमा बाँधेर बलियो बनाउने काम गर्छ । नेपालमा वर्षेनी एक लाख तीस हजारदेखि एक लाख ५० हजार मेट्रिक टनसम्म बिटुमिन खपत हुने गरेको सरकारी तथ्यांक छ ।

सडक विभागका एक सीडीईका अनुसार सात मिटर चौडा अर्थात् डब्बल लेनको एक किलोमिटर सडक कालोपत्रे गर्न ३० देखि ३५ हजार लिटर बिटुमिन चाहिन्छ । नेपालमा वार्षिक १० अर्ब रुपैयाँभन्दा बढीको बिटुमिन खपत भइरहेको बताइन्छ । कालोपत्रे मात्र नभई मर्मतका लागि पनि बिटुमिन नै चाहिने भएकाले वर्षेनी बिटुमिन खपत बढिरहेको छ ।