कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् ।

थापा पुस २७ देखि ३० गतेसम्म भृकुटीमण्डपमा भएको कांग्रेस विशेष महाधिवेशनबाट सभापति चयन भएका थिए । थापा आफैँ पनि प्रतिनिधि सभा निर्वाचनमा सर्लाही–४ बाट पराजित भएका थिए ।

आमनिर्वाचन समीक्षा गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने छ । बैठकमा पार्टी महाधिवेशनबारे पनि छलफल हुने बताइएको छ । यसअघि काठमाडौं-४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही-४ बाट उम्मेदवार थिए ।

उनलाई रास्वपाका डा अमरेशकुमार सिंहले पराजित गरे । रास्वपाले झन्डै दुई तिहाइ सिट प्राप्त गर्दा दोस्रो भएको कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी ३८ सिट मात्रै प्राप्त गरेको छ । चुनावी नतिजापछि राजीनामाको तयारी गरेका थापालाई पार्टीका विभिन्न तहका नेताहरुले राजीनामा नदिन सुझाव र दबाब दिँदै आएका थिए ।

थापा निर्वाचनअघि भएको विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति निर्वाचित भएका थिए । थापाले दिएको राजीनामाबारे पार्टीको आगामी बैठकले निर्णय लिनेछ । केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बोलाइएको छ ।