अर्थविद् केशव आचार्यको निधन
काठमाडौं । अर्थविद् केशव आचार्यको अन्नपूर्ण न्यूरो हस्पिटलमा उपचारका क्रममा सोमबार बिहान ९ बजेर ५५ मिनेटमा ७२ वर्ष उमेरमा निधन भएको छ । आचार्यलाई मस्तिष्कघात भएसँगै न्यूरो हस्पिटलमा भर्ना गरिएको थियो । उनको पार्थिव शरीरको भोलि मंगलबार मात्रै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकका रुपमा समेत जिम्मेवारी सम्हालेका अर्थशास्त्री आचार्यले पछिल्लो समय मुलकको वित्तीय तथा समष्टिगत आर्थिक सुशासनका लागि बहस तथा पैरवी गर्दै आएका थिए ।
आचार्य २०५१ सालको मनमोहन अधिकारी नेतृत्वको सरकारले घोषणा गरेको बजेटमा उल्लिखित ‘एक सय रुपैयाँको वृद्ध भत्ता’ र ‘आफ्नो गाउँ आफैँ बनाऔं’ कार्यक्रम टोलीका सदस्य थिए । राष्ट्र बैंकबाट अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को मुख्यालय,वासिङ्ग्टन डिसीमा वरिष्ठ आर्थिक सल्लाहकारको रुपमा दुई वर्ष काम गरेका थिए ।
आचार्यको श्रीमती, एक छोरा र एक छोरी छन् । छोरी विदेशबाट आउनुपर्ने भएकाले अन्तिम दाहसंस्कार भोलि मध्यान्ह मात्रै हुने पारिवारिक स्रोतले जानकारी दिएको छ ।


