प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूले लिए पद तथा गोपनीयताको सपथ (भिडियो सहित)

काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले सांसदहरुलाई सिंहदरबारमा शपथ दिलाएका हुन् ।राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ज्येष्ठ सदस्य केसीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । नवनिर्वाचित सांसदहरूलाई जेष्ठ सदस्य अर्जुननरसिंह केसीले संसदको नयाँ भवन सिंहदरवारस्थति बहुउदेश्यीय हलमा शपथ गराएका हुन ।

केसीले हिजो राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सपथ लिएका थिए । २ सय ७५ जना सांसदहरूमध्ये ६१ जनाले मातृभाषामा सपथ लिएका छन् । उनीहरूले नेपाल भाषा, डोटेली, मैथिली, बज्जिका, भोजपुरी, थारू, मगही, संस्कृत, चाम्लिङ, तामाङ, छन्त्याललगायत भाषामा सपथ लिएका छन् । मातृभाषामा सपथ लिएकाहरूले नेपाली र मातृभाषा दुवैमा हस्ताक्षर गरेका छन् ।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले १ सय ८२ सिटको बहुमत प्राप्त गरेको छ । २०५६ सालको प्रतिनिधिसभापछि कुनै पनि राजनीतिक दलले निर्वाचनमा एकल बहुमत प्राप्त गरेको यो पहिलो पटक हो। २०५६ सालमा २०५ सदस्यीय प्रतिनिधिसभामा नेपाली कांग्रेसले १ सय ११ स्थान जित्दै बहुमत ल्याएको थियो।

मिश्रित निर्वाचन प्रणालीअनुसार हुने प्रतिनिधिसभा निर्वाचनमा राजनीतिक दललाई सामान्य बहुमत ल्याउन पनि कठिन हुने ठानिए पनि रास्वपाले स्पष्ट बहुमत पनि पार गर्दै करिब दुई तिहाइ मत ल्यायो । अघिल्लो प्रतिनिधिसभामा पहिलो दल बनेको नेपाली कांग्रेस नयाँ संसद्‌मा ३८ स्थानमा खुम्चिएको छ भने नेकपा एमालेको २५ सिट, नेपाली कम्युनिस्ट पार्टी नेकपाको १७, श्रम संस्कृति पार्टीको सात र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको पाँच सिट छ।

यस्तै, म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका पूर्वमन्त्री महावीर पुन पनि संसद्‌ प्रवेश गरेका छन् । सांसदहरूको सपथपछि राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान गरेका छन् । अधिवेशनको पहिलो बैठकमा दुवै सदनलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

शपथका लागि सांसदहरू विभिन्न परम्परागत पोशाकमा पुगेका थिए । केहीले मातृभाषामा समेत शपथ लिए । सपथग्रहणमा सभाहलको आधाभन्दा ठूलो हिस्सा रास्वपा सांसदहरुले कब्जा गरेका छन् । उनीहरु बैठक कक्षको दुईवटा ‘रो’ ओगटेर बसेका छन् । परम्परागत ठूला दलहरु कांग्रेस, एमाले र नेकपा एउटै ‘रो’ मा खुम्चिएका छन् ।

प्रतिपक्षी लहरको सबैभन्दा अगाडिको सिटमा नेकपा संयोजक प्रचण्ड र एमाले उपाध्यक्ष बादल सँगसँगै छन् । उनीहरु पूर्वसहयोद्धा हुन् । दुवै राष्ट्रिय पोशाकमा छन् । उनीहरुसँगै कांग्रेसका दुई सांसद छन् । तेस्रो ‘रो’ मा राप्रपाका ज्ञानेन्द्र शाही र श्रम संस्कृति पार्टीका हर्क साम्पाङ पहिलो सिटमा सँगसँगै छन् ।

आजको बैठकमा प्राय सांसदहरुले राष्ट्रिय पोशाक लगाएका छन् । केही सांसदले जातीय र सांस्कृतिक पहिरन लगाएर आएका छन् । रास्वपाको ‘रो’ मा सबैभन्दा पहिलो लहरमा सभापति रवि लामिछाने र त्यसपछि बालेन साह छन् । उनीहरुसँगै पार्टीका उपसभापतिद्वय डीपी अर्याल र डा‍ स्वर्णिम वाग्ले बसेका छन् । अर्को ‘रो’ को नेतृत्व महामन्त्री कविन्द्र बुर्लाकोटीले गरेका छन् ।