एमाले सचिब महेश बस्नेत विरुद्धको शोभा पाठकको रिट उच्च अदालतबाट खारेज
काठमाडौँ । कारबाही प्रक्रिया अघि बढिरहेको जानकारी आएको उल्लेख गर्दै उच्च अदालतले नेकपा एमालेका सचिव महेश बस्नेतमाथिको कानुनी प्रक्रिया अघि बढाउन माग गरिएको शोभा पाठकको रिट आज खारेज गरेको छ।
पाठकले बस्नेतविरुद्धको निवेदन जिल्ला सरकारी वकिल कार्यालयले तामेलीमा राखेको भन्दै आवश्यक प्रक्रिया अघि बढाउने आदेश जारीको मागसहित उच्चमा निवेदन दिएकी थिइन्। आज उक्त मुद्दाको कारबाही प्रक्रिया जिल्लाबाट अघि बढेको जानकारी आएकाले मागबमोजिक आदेश जारी गरिरहनु नपर्ने भन्दै मुद्दा खारेज गरिएको हो।
उच्च अदालतका न्यायाधीश सोमकान्त मैनाली र केशव अधिकारीको संयुक्त इजलासले उक्त आदेश भएको हो। आदेशमा भनिएको छ, चैत १७ गते निवेदकलाई उपलब्ध गराइएको सूचनामा यस अदालतको सक्कल मिसिल प्राप्त भएपछि कानुन बमोजिम हुने नै हुँदा भनी पुरक जाहेरी दरखास्तसमेतका आधारमा पक्राउ अनुमतिका लागि अनुरोध गरिएकोमा काठमाडौँ जिल्ला अदालनबाट चैत १६ मा आदेश भएकाले कारबाही प्रक्रिया अघि बढिरहेको भन्नेसमेत देखिँदा निवेदकको माग बमोजिम उत्प्रेषणयुक्त परमादेश आदेश जारी गरिरहनु परेन। यो आदेशसँगै अब बस्नेतमाथि आवश्यक अनुसन्धानका लागि बाटो खुला भएको छ।
केही दिन अघि उच्चमा भएको मुद्दाका कारण मुद्दाको छिनोफानोपछि निर्णय हुने भनी जिल्ला अदालतले पक्राउ पुर्जी दिएको थिएन। यो आदेशसँगै पक्राउ पुर्जीका लागि समेत बाटो खुला भएको छ।


